बाढी पीडितलाई गाँस र बासको समस्या, गङ्गटेमा अझै उद्धार हुन सकेन


 २ भदौ ,

नारायणी रजौरे,
बबई नदीमा आएको बाढीका कारण घरसहित सम्पूर्ण सामग्री बगेपछि विचल्लीमा परेका उरहरी–६ मोतिपुर, डुरुवा, फूलबारी, गोल्टाकुरी, धनौरी, पञ्चकुले, पुरन्धरा गाविसका सयौँ नागरिक अहिले विद्यालय, सामुदायिक भवन र आफन्तकोमा आश्रय लिन बाध्य छन् ।

    एकसरो कपडामा ज्यान जोगाउन सफल भएका उनीहरू आफूसँग भएको सम्पत्ति सबै बाढीले बगाएर लगेपछि अहिले निकै चिन्तित छन् । पश्चिम दाङको पुरन्धरा–९ गङ्गटेकी मनकला रोकाले यसरी आफ्नो पीडा पोख्नुभयो – “पाँच दिन भयो, हाम्रो यो अवस्था भएको । गाउँलेहरूको सहयोगमा एकसरो कपडामा स्थानीय चौरमा त्रिपालमा बसेर रात काट्न बाध्य छौँ । अहिलेसम्म राज्यका कुनै मानिसको मुख देख्न पाएका छैनाँै ।”

उहाँले भन्नुभयो – “रातिको समय थियो । एक गाउँलेले गाउँमा बाढी पस्यो, सबैले ज्यान जोगाउँ भनेर कराएको सुनेपछि हतारहतार छोराछोरी बोकेर बाहिर निस्केका मात्र के थिएँ, बाढी घरमा पस्यो । एक छिनमा घर बगाएर लग्यो । भागेर ज्यान जोगायौँ ।”

    उहाँका अनुसार गङ्गटेमा पहिरोमा पुरिएको आमाछोरीको मृत्यु भएको छ तर उनीहरूको शव निकाल्न सकिएको छैन ।  भौगोलिक विकटताका कारण निकै टाढा रहेको सो ठाउँ पुग्न पश्चिम दाङको हापुरेबाट कम्तीमा छ घण्टा पैदल हिँड्नु पर्छ ।  स्थानीयवासीले टेलिफोनबाट दिएको जानकारीअनुसार त्यहाँका १७ घर बाढीले बगाएको छ र ३० घर डुबेका छन् ।

    सो गाउँको एक घरमा गत साउन ३० गते पहिरो खस्दा २७ वर्षीय देउकला कुँवर र उनकी छ वर्षीया छोरी गङ्गा कुँवरको मृत्यु भए पनि अझै उनीहरूको शवसमेत निकाल्न नसकिएको गाउँलेहरूले बताएका छन् ।

    त्यहाँका बाढी पीडितहरू धेरै भोकभोकै बस्न बाध्य छन् । केहीलाई ज्वरो, पखाला, रुघाखोकीको सङ्क्रमण देखिएको स्थानीय एक शिक्षकले बताए । यस्तो पीडा पर्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पनि नआएकामा गङ्गटेवासीको गुनासो छ । त्यसैगरी, पश्चिम दाङको पञ्चकुले–६ का १९ वर्षीय रमेश कुँवर र उहाँका भाइ हेमन्त कँुवर पनि पाँच दिनदेखि आफन्तको घरमा बस्दै आउनुभएको छ ।

    गत बिहीबार बबई नदीमा आएको बाढीले आफ्नो घरमा रहनुभएका बुबा ४५ वर्षीय बेलबहादुर कुँवर, आमा ४३ वर्षीया मनकली कुँवर र दुई वटा भाइ शोभा राम र खिम बहादुरलाई घरसहित बाढी बगाएर लगेपछि अहिले यी दुई भाइ विचल्लीमा परेका हुन् ।

    फुपूकोमा गएका उनीहरूले भोलिपल्ट बिहान घरमा आउँदा त घरसहित बुबाआमा सबैलाई बाढीले बगाएर लगेको थाहा पाएका थिए ।  चारजनाको शव अझै भेटिएको छैन । आफूहरूलाई बस्ने बास र गाँसको व्यवस्था गरिदिन उनीहरूले रासस समाचारदातालाई भावविह्ल हुँदै आग्रह गरे ।

    दाङ प्रहरीले पनि उनीहरूका परिवारजनको अवस्था अज्ञात रहेको बताउँदै आएको छ । बाढी पीडित पञ्चकुले–६ मठेराका २९ घरपरिवारले आफूहरूलाई उचित राहत र सुरक्षित बसोवास व्यवस्था गरिदिन माग गरेका छन् ।

    बाढी पीडित सुनिता चौधरी भन्छिन् – बाढी घरमा पसेर घर सबै बगाएर लग्यो । तीनजना बालबालिकालाई बोकेर राति घरबाट निस्केकी हुँ । स्थानीय सामुदायिक भवनमा बसेका छाँै । अहिलेसम्म खाना खान पाएका छैनौँ ।  त्यसैगरी उरहरी–६ मोतिपुरका डुबान पीडित पनि अहिले बाढी पसेर भत्काएको आफ्नो घर उत्खनन् गरिरहेका छन् ।  घरका भाडाकँुडा र अरु केही सामान भेटिन्छ कि भन्ने आशामा उनीहरू त्यसो गरिरहेका छन् ।

    त्यहाँ पीडितहरूलाई गाउँले र सङ्घ संस्थाको सहयोगमा नजिकैको विद्यालयमा राखिएको छ ।  अहिले यहाँ उद्योग वाणिज्य सङ्घ, रेडक्रस र अन्य सङ्घ संस्थाको सहयोगमा सङ्कलन गरिएको राहत वितरण गर्ने काम भइरहेको छ ।

    बबई नदीमा आएको बाढीपहिरोका कारण १४ जनाको ज्यान गइसकेको बताइन्छ ।

    बाढी र पहिरोले यहाँका एक दर्जन गाविसका ५१३ घर भत्किएका छन् । करिब २०० घर बग्दा करोडौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  यसैबीच, दाङका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले अरु गाविसमा विभिन्न सङ्घ संस्थाको समन्वयमा तत्कालका लागि राहत वितरण गरिए पनि पश्चिम दाङको पुरन्धरा–९ गङ्गटेमा भने अझैसम्म राहत पुग्न नसकेको बताउनुभएको छ ।

उहाँका अनुसार मौसमले साथ दिए आज हेलिकप्टरको सहायतामा त्यहाँ राहत सामग्री पठाइने छ ।

No comments for: "बाढी पीडितलाई गाँस र बासको समस्या, गङ्गटेमा अझै उद्धार हुन सकेन"


Leave a Reply

Join Our Facebook !!!

More Latest