पार्टीभित्रको विवाद समाधान हुन्छ – अध्यक्ष दाहाल



 २ भदौ ,

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक विवादलाई समाधान गरेर संविधान निर्माणमा केन्द्रित हुन पार्टीका सबै तह र तप्कालाई आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित ‘दश वर्षे जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मृतिमा निर्माण गरिएको स्तम्भ अनावरण तथा सहिद रामवृक्ष यादवको २०औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको विवाद समाधान हुने र त्यसको लागि पहल भइरहेको बताउनुभयो ।

विचार तथा राजनीतिक विषयमा पार्टीभित्र विचारविमर्श हुँदा त्यसलाई नकारात्मकरुपमा लिने र उत्तेजित हुने कामले कोही कसैको पनि हित नगर्ने भन्दै उहाँले सहिद, बेपत्ता तथा घाइते परिवारलाई सम्झेर पार्टीलाई एकताबद्ध बनाउन सबैको उत्तिकै पहल र प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो । जनयुद्ध, जनआन्दोलन र विभिन्न सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि आगामी माघभित्र जनपक्षीय संविधान निर्माण गर्न सबै दल संवेदनशील भएर लाग्नुपर्ने उहाँका भनाइ थियो ।

क्रान्तिकारी शक्तिका लागि हरेक समय चुनौतीपूर्ण र सङ्कटग्रस्त नै हुने गरेको प्रसङ्ग जोड्दै उहाँले अप्ठ्यारो समयमा नआत्तिन र सहज समयमा नमात्तिन समेत आग्रह गर्नुभयो । सहिद, घाइते, बेपत्ता योद्धाको सपना पूरा गर्न पार्टी अन्तिम समयसम्म पनि प्रतिबद्ध भएर लाग्ने र त्यसमा कुनै पनि अर्थ र सन्दर्भमा तलमाथि नगरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कुल रु १२ लाख लागतमा निर्माण गरिएको स्तम्भमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका सहिद, बेपत्ता, घाइतेका साथै विभिन्न राजनीतिक आन्दोलन र सशस्त्र सङ्घर्षलाई प्रतिबिम्वित गरिएको छ ।  कलाकार नारदमणि हार्तुम्छाली नेतृत्वको टोलीले एक वर्ष समय लगाएर कुँदेको ढुङ्गाको सो स्तम्भ नितान्त मौलिक र कलायुक्त रहेकोसमेत सोही समारोहमा जानकारी गराइएको थियो ।

कार्यक्रममा २०५१ भदौ २ गते धनुषाको बर्मझियामा मारिएका रामवृक्ष यादवको राजनीतिक योगदानका विषयमा चर्चा गरिएको थियो ।

सो अवसरमा एमाओवादीका पोलिटब्यूरो सदस्य हितराज पाण्डे, बेपत्ता परिवारका तर्फबाट मन्तव्य राख्नुभएका गोपाल न्यौपानेले सहिद तथा बेपत्ता परिवारको संरक्षण गर्न पार्टी चुकेको भन्दै आलोचना गर्नुभएको थियो ।

No comments for: "पार्टीभित्रको विवाद समाधान हुन्छ – अध्यक्ष दाहाल "


Leave a Reply

Join Our Facebook !!!

More Latest