संसद् अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ– सभामुख नेम्वाङ


२८ जेठ,
सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको आवाज अवरुद्ध हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै सभामुख नेम्वाङले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्ने बताउनुभयो ।

विगतदेखि नै आफूले सबै राजनीतिक दललाई कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उहाँले संसद् अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको बताउनुभयो । आफू सदैव उद्योग मैत्री नीति र कानुनको पक्षमा रहेको बताउँदै सभामुख नेम्वाङले त्यस्ता विधेयक संसद्मा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने विश्वास दिलाउनुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पु¥याउन अघि बढ्नुपर्ने सुझाव दिनुभयो । अध्यक्ष पाण्डेले सरकारले चाँडै चेम्बर कानुन ल्याउनुपर्ने माग राख्दै नेपालका उद्योग व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धायोग्य बनाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले मुलुकमा आर्थिक समृद्धि र विकासका लागि सरकारले निजी क्षेत्रलाई लगानी सुरक्षाको वातावरण निर्माणका साथै ऊर्जा र पूर्वाधार विकासमा संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा महासङ्घका पूर्व अध्यक्षहरू, सरकारका उच्च अधिकारीहरू, प्रतिष्ठित उद्योगी एवम् महासङ्घका देशभरका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

No comments for: "संसद् अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ– सभामुख नेम्वाङ"


Leave a Reply

Join Our Facebook !!!

More Latest