नेपालगन्जलाई उपमहानगरपालिका बनाउन सिफारिस


 २८ जेठ,
 नेपालगन्ज नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गरिएको छ । नेपालगन्जमा गाभिने दश गाविसको औपचारिक स्वीकृतपछि नेपालगन्जलाई उपमहानगरपालिका घोषणाका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन जिल्लाबाट आग्रहसहितको सिफारिस गरिएको हो । जिल्लास्तरीय नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले ११ गाविसलाई नेपालगन्जमा गाभिन परिपत्र गरेको थियो । जिल्लाको काङ्रकादो, मनिकापुर, जैसपुर, पिप्रहवा, बसुदेवपुर, इन्द्रपुर, परसरपुर, भवानियापुर, उदयपुर र पुरैना गाविसले समितिले दिएको सीमा अवधिभित्रै गाभिन स्वीकृत जनाएका थिए ।

समितिको बैठकपश्चात सम्बन्धित कागजातसहित आवश्यक प्रक्रियाका लागि केन्द्रमा सिफारिस गरी सकिएको जिल्लास्तरीय नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो ।

ढकालका अनुसार भूगोल, जनसङ्ख्या र स्थानीय मागअनुसार मनिकापुर, इन्द्रपुर र पुरैना गाविसलाई दुई वटा वडा र अन्य गाविसलाई एउटै वडाका रूपमा विभाजन गर्ने गरी पठाइएको छ । उपमहानगरपालिका घोषणा हुनका लागि नगरको एक लाख जनसङ्ख्या, वार्षिक रु १० करोड आयस्रोत, विमानस्थल, रङ्गशाला, मेडिकल कलेज, अस्पताल भएको मापदण्ड र आधार हुनुपर्ने प्रावधान रहेको छ ।

No comments for: "नेपालगन्जलाई उपमहानगरपालिका बनाउन सिफारिस "


Leave a Reply

Join Our Facebook !!!

More Latest