तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी


२३ जेठ ,
परिश्रम, मिहिनेत र लगनशील भएमा आफ्नै देशका खेतीबारीमा पनि तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय कृषक बन्नुभएको छ, चित्रनाथ पौडेल । कास्कीको हेम्जा गाविसका अगुवा कृषक पौडेलले एकै वर्षमा गोलभेँडा, आलु तथा अन्य तरकारीखेती गरेर रु सात लाखभन्दा बढी खुद नाफा गर्नु भएको छ ।

    आफ्नो पैतृक तीन÷चार रोपनी तरकारीखेतीका लागि नपुग भएपछि १४ रोपनी जमिन भाडामा लिएर केही वर्ष अघिदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेको पौडेल बताउनुहुन्छ । भाडामा लिएको जमिनमा अहिले गोलभेँडाखेतीका लागि ५० वटा टनेल बनेका छन् । भाडामा लिएको जमिनको मात्रै वार्षिक रु ८० हजार भाडा तिर्नु पर्दछ । यो वर्ष गोलभेँडाखेतीबाट मात्रै रु १७ लाख आम्दानी भएको थियो ।

    गोलभेँडाखेतीका लागि दैनिक तीन जनाले रोजगार पाएका छन् । टनेल बनाउँदाको खर्च, कामदारको ज्याला, बीउबिजन खर्चसमेत रु १० लाख कटाउदा गोलभँेडाखेतीबाट मात्रै रु सात लाख आम्दानी भएको पौडेलको भनाइ छ ।  कृषक पौडेलले केही जमिनमा आलुखेती गरेर १० टन आलु उत्पादन गर्नु भएको छ । आलुबाट पनि उहाँले खर्च कटाएर रु एक लाख जति नाफा आर्जन गर्नु भएको छ् । पोखरा उपमहानगरपालिकासँगै जोडिएको हेम्जामा अहिले झन्डै एक हजार ८५ जना कृषक व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका छन् ।

    पोखरा नगर क्षेत्रमा हेम्जा गाविसमा उत्पादन भएको तरकारीले करिब २० प्रतिशत माग पूरा गरेको छ । त्यहाँका कृषकले वार्षिक एक अर्बभन्दा बढीको आलु, गोलभेँडा, काँक्रो, घिरौँला, सिमी, सागसब्जीलगायतका तरकारी बिक्री गर्ने गर्दछन् । हेम्जाका कृषकहरूले वार्षिक रु १३ करोड मूल्यको आलुमात्रै बिक्री गर्ने गरेको बताइएको छ ।
नेपाली दाजुभाई विदेशमा गएर दुःख पाएको देखेपछि आफ्नै खेतबारीमा पनि खेतीपाती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ तरकारीखेतीमा लागेको उहाँ बताउनुहुन्छ ।

No comments for: "तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी "


Leave a Reply

Join Our Facebook !!!

More Latest