धनगढीमा बस तोडफोड



२२ जेठ ,
 बस सेवा सञ्चालनको विषयलाई लिएर कैलालीमा दुई बस व्यवसायी समितिबीच उत्पन्न विवादले उग्र रूप लिएपछि दुवै पक्ष एकार्काका बस तोडफोडमा उत्रिएका छन् । गन्तव्यतर्फ गइरहेका र बसबिसौनीमा रोकिराखिएका बसमा भइरहेको तोडफोडको घटनाले यात्रुले सास्ती झेल्नुपरेको छ । सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका सम्बन्धमा तीन हप्तादेखि विवाद छ ।

    कर्णाली रिभरले फूलबारी (कैलाली)–काठमाडौँ रुटमा वाइफाई र इन्टरनेट सुविधासहितका बस सञ्चालनको तयारी गरेपछि सुदूरपश्चिमले गरेको विरोधसँगै दुई समितिबीचको विवादले उग्र रूप लिएको हो ।

    जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार बुधबार साँझदेखि आज बिहानसम्म दुवै बस समितिका गरी झन्डै एक दर्जन बसमा तोडफोड भएको छ । आज बिहान गन्तव्यतर्फ गइरहेको कर्णाली रिभरको ना४ख ६६५८ नंको बसमा सुदूरपश्चिम यातायात व्यवसायी पक्षधरले पूर्वपश्चिम राजमार्गको लम्की–चिसापानी सडकखण्डमा तोडफोड गरेको कर्णाली रिभरसाइड यातायातले जनाएको छ ।  

घटनापछि तोडफोड भएको बस सडकमा तेस्र्याइएपछि लम्की–चिसापानी राजमार्ग सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति धनगढीस्थित बसबिसौनीमा रोकिइराखिएको दुई वटै बस समितिका बससमेत तोडफोड गरिएको छ । घटना नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि हातपात गर्ने धनगढीका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक विष्ट र प्रहरी जवान प्रकाश सिंह सामान्य घाइते भएका छन् ।

    दुवै समितिबीचको विवाद समाधान गर्न केही दिनअघि बसेको बैठकले एक खालको सहमति गरेको भए पनि सहमतिको पालना नगरेको आरोप सुदूरपश्चिम यातायात व्यवसायी समितिले लगाएको छ । यद्यपि कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिले प्रचलित कानुनबमोजिम आफ्ना बस सञ्चालनमा सुदूर पश्चिम यातायातले रोक लगाउँदै अहिलेको प्रतिस्पर्धा युगमा एकाधिकार लाद्न खोजेको आरोप लगाएको छ ।

No comments for: "धनगढीमा बस तोडफोड"


Leave a Reply

Join Our Facebook !!!

More Latest