२१ जेठ,
नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको एमए ६० जहाजलाई असार १ गतेदेखि नउडाए निगम पदाधिकारीमाथि कारबाही प्रक्रिया सुरु गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक, नेपाल वायुसेवा निगमका महानिर्देशकसहितको उच्च पदाधिकारी सम्मिलित बैठकले आयोगका पदाधिकारीसमक्ष आगामी असार १ गतेदेखि उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको र सोहीअनुरुप उडान हुनेमा आयोग विश्वस्त रहेको जनाएको छ ।
सोहीअनुरुप उडान नभएमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई आयोगबाट थप अनुसन्धान सुरु गरिने आयोगले चेतावनी दिएको छ ।
समयमा उडान नियमन एवम् व्यवस्थापन गर्न नसक्दा हवाइ सेवाग्राहीले सेवा सुविधा उपभोग गर्नबाट वञ्चित हुनुपरेको, निगमले दैनिक लाखौंको घाटा बेहोर्नुपरेको उजुरी तथा जनगुनासो आएपछि आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लिखित छ ।
गत वैशाख १४ गते चीनबाट नेपाल ल्याइएको सो विमानको पटक÷पटक उडान तालिका स्थगन हुँदै आएपछि अख्तियारले असार १ गतेदेखि उडान सुरु गर्न निर्देशन दिएको हो । रासस
No comments for: "नयाँ विमान असार १ गतेदेखि सञ्चालनमा ल्याउन अख्तियारको निर्देशन"
Leave a Reply