नयाँ संविधान दिएर मात्र जनआन्दोलनको परिर्वतनलाई संस्थागत गर्न सकिन्छ – राष्ट्रपति



१४ जेठ ,
          राष्ट्रपति डा. रामवरण यादवले दोस्रो संविधानसभाबाट छिटोभन्दा छिटो नयाँ संविधान दिएर मात्र जनआन्दोलनको परिर्वतनलाई संस्थागत गर्न सकिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित ‘गणतन्त्रको संस्थागत विकासका लागि मिडियाको भूमिका’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति डा. यादवले बिथोलिन लागेको मुलुकको राजनीतिलाई दोस्रो संविधानसभाले पुनः सही दिशामा ल्याएको बताउँदै राजनीतिक दल, आमसञ्चार माध्ययमलगायत सबै प्रबुद्ध वर्ग र समुदाय मिलेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो व्यावसायिक जिम्मेवारीका साथै पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – तपाईं सम्पूर्ण पत्रकारहरुलाई सङ्क्रमणकालीन राष्ट्रलाई व्यवस्थापन गर्न सहयोग पुग्ने गरी कलम चलाउन आग्रह गर्दछु ।  सोही अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नेलाई नियन्त्रण कसरी गर्ने भन्ने सन्दर्भमा काउन्सिल गम्भीर रहेको बताउनुभयो ।

    यसैबीच, प्रेस काउन्सिल नेपालद्वारा गठित पत्रकार आचारसंहिता सुझाव कार्यदलले आफ्नो अध्ययन अनुसन्धान प्रतिवेदन आजै काउन्सिलका अध्यक्ष कार्कीलाई बुझाएको छ । नागरिक दैनिकमा प्रकाशित समाजसेवी ‘दिलशोभालाई यौन दुराचारको आरोप’ शीर्षकको समाचार छाप्दा पत्रकार आचारसंहिता उल्लङ्घन भए÷नभएको अध्ययन अनुसन्धान गर्न गठित सो कार्यदलको प्रतिवेदन सोही अवसरमा बुझाइएको हो ।

    प्रतिवेदनमा सो समाचार छाप्दा नागरिक दैनिकले आचारसंहिता उल्लङ्घन गरेको पाइएको कार्यदलले निष्कर्ष निकालेको सो कार्यदलको सचिव दीपक खनालले जानकारी दिनुभयो ।सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा गठित सो कार्यदल गत फागुन महिनामा गठन भएको थियो । रासस

No comments for: "नयाँ संविधान दिएर मात्र जनआन्दोलनको परिर्वतनलाई संस्थागत गर्न सकिन्छ – राष्ट्रपति"


Leave a Reply

Join Our Facebook !!!

More Latest