१० जेठ,
यार्सागुम्बा संकलन गर्न गएकाबाट झन्डै २५ करोड रुपैयाँ प्रवेश शुल्क उठेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुराकोटले जानकारी दिएको छ ।
जाजरकोट, रुकुम, सल्याण, दैलेख, कालीकोट, बाँके र जुम्लालगायतका जिल्लाबाट डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि अहिलेसम्म ५३ हजार जना डोल्पामा प्रवेश गरेको समितिका अध्यक्ष टीकादत्त न्यौपानेले बताए ।
यार्सागुम्बा संकलनकर्तालाई दुई प्रकारको प्रवेश शुल्क निर्धारण गरिएको छ । जिल्लावासीलाई दुई हजार र अन्य जिल्लाका स्थानीयलाई तीन हजार रुपैयाँ तोकिएको छ ।त्यस्तै भोट क्षेत्रका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ प्रवेश शुल्क लिइरहेको पाइएको छ । डोल्पाका ४० भन्दा बढी क्षेत्रमा यार्सागुम्बा पाइने गरेको समितिले बताएको छ । अहिलेसम्म डोल्पा जानेको सङ्ख्या ५३ हजार भए पनि अन्तिम समयसम्म एक लाखभन्दा बढी डोल्पामा पुग्ने समितिले जनाएको छ ।
डोल्पाका स्थानीय सबैले यार्सागुम्बा सङ्कलन गरेरै जीवन चलाउने भएका कारण यहाँका लागि महत्वपूर्ण मानिन्छ । छोटो समयमा नै राम्रो आम्दानी हुने भएका कारण यार्सागुम्बा सङ्कलन गर्नेको ठूलो भिड लाग्ने गरेको डोल्पाका सञ्चारकर्मी राजेन्द्र न्यौपाने बताउनुहुन्छ ।
प्रहरी चौकी र समितिसँग सम्पर्क गरेर जाने यार्सागुम्बा सङ्कलकको सङ्ख्या अहिलेसम्म ५३ हजार भए पनि चोरबाटो भएर जानेको सङ्ख्या अत्यधिक भएको व्यापारीहरु बताउँछन् । रासस
No comments for: "यार्सागुम्बा टिप्नेहरु बाट २५ करोड असुली"
Leave a Reply