नेपालमा लागुऔषध वितरण गर्ने को हुन् ?


 २ भदौ ,

कमल रायमाझी,

खुला सिमानाका कारण अहिले नेपालमा लागुऔषध बिनारोकतोक भित्रिने गरेको छ । दैनिकजसो सयौँको सङ्ख्यामा नेपाली नवयुवा लागुऔषधको कुलतमा फसेका देखिन्छन् ।

काठमाडौँ, पोखरा, स्याङ्जा, गुल्मी, पाल्पा, पर्वत, बाग्लुङ, अर्घाखाँची, रुपन्देही, नवलपरासी, चितवनलगायतका जिल्लामा लागुऔषध भित्रिने मुख्य नाका भैरहवाको सिद्धार्थनगर नगरपालिका बेलहिया नाका रहेको रुपन्देही प्रहरीको अभिलेखमा देखिन्छ । भारतीय बजार सुनौलीसँंग सीमा जोडिएको बेलहियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जाँच पार गरेर लागुऔषधको ओसारपसार नियमितजसो हुने गरेको अनुसन्धानमा देखिन्छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाले आफ्नो वार्षिक कार्य विवरणमासमेत सीमा नाकामा अत्यधिकमात्रामा लागुऔषध प्रयोगकर्ताहरू आउने गरेको जनाएको छ । धेरैजसो भारततिरै प्रयोग गरेर आउनाले नियन्त्रणमा लिन समस्या हुने गरेको जनाउँदै लागुऔषध नियन्त्रण शाखा भैरहवाका प्रमुख प्रहरी निरीक्षक रामशङ्कर कोहारले भन्नुभयो, “मानिस हेर्दा सभ्य र सुकिला देखिन्छन्, अनुसन्धान गर्दै जाँदा पत्याउन नसकिने राम्रो घरपरिवारका छोराछोरीसमेत लागुऔषध कुलतमा फसेको देखिन्छ ।”

विदेशीलेसमेत लागुऔषध बोकेर नेपाल आउने गरेको प्रहरी अभिलेखबाट देखिन्छ । गत आर्थिक वर्षमा विदेशका सात पुरुष र दुई महिलाले भारतको सुनौली नाका हुँदै नेपालमा लागुऔषधसहित प्रवेश गरेका थिए ।

गत आर्थिक वर्षमा २८५ जना भारतको सुनौली नाकाबाट लागुऔषध लुकाइछिपाइ नेपालतर्फ आउँदै गर्दा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ, जसमा महिलाको सङ्ख्या छ रहेको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये धेरैजसो कलेज पढ्ने विद्यार्थीहरू रहेका छन् ।

किन कुलतमा फस्छन्, युवायुवती ?

समाजशास्त्री तथा भैरहवा बहुमुखी क्याम्पसकी प्राध्यापक विमला पोखरेलका अनुसार– “समाजको विकाससँंगै देखासिकी गर्ने प्रवृत्तिले युवायुवती यस्ता कुलतमा फसेका छन् । मुख्यतया नेपाली समाजमा बुबा आमाले समाजमा धन सम्पत्ति भएसम्म छोराछोरीमा आर्थिक अभाव नहोस् भनेर बढी पैसा खर्च गर्न दिने गर्नाले पनि प्रायः युवापुस्ता लागुऔषधको दुव्यर्शनमा फसेको देखिन्छ । छोराछोरीलाई बाबुआमाले नियन्त्रणमा नराख्ने र कहाँ के गरिरहेका छन् भन्ने कुरामा वास्ता नगर्दा पनि गलत बाटोमा हिँड्न अग्रसर हुन्छन् ।”

भारतीय बजारमा खुल्लम खुल्ला लागुऔषध बिक्री हुने गरेकाले नेपाली युवायुवती सजिलै कुलतमा फँसेका हुन्छन् । साथीभाइको लहलहैमा पनि धेरैजसो युवायुवतीले लागुऔषध सेवन गर्ने गरेका हुन्छन् ।

कति होलान् यसक्षेत्रमा लागु औषध प्रयोगकर्ता ?

खुला सिमानाको फाइदा उठाउँदै सुनौली नाकाबाट दैनिक २०० देखि ३०० को हाराहारीमा लागुऔषध सेवन गरी नेपाली युवायुवती नेपाल आउने गरेको लागुऔषध शाखा कार्यालय भैरहवाका प्रहरी हवल्दार प्रभु कहार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “राम्रा घरपरिवार र पढेलेखेका युवायुवतीसमेत सेवनगरी आउने गरेका छन्, प्रहरीले सेवन गरी आउनेलाई सामान्य सोधपुछ र निगरानीमा राख्ने गरे पनि ओसारपसार गर्नेलाई र अधिक सेवन गरी आउनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।”

कारोबार कति होला ?

भारतीय सीमा नाका हुँदै नेपालतर्फ कति लागुऔषध भित्रिन्छ त भन्ने कुरा अनुमान गर्न पनि नसकिने किसिमको रहेको छ । चोरी निकासी भएर आउने भएकाले यसको यकिन आँकडा निकाल्न सकिँदैन । नेपालका सीमा जोडिएका २२ वटै जिल्ला यसको उच्च जोखिममा रहेका छन् । खुला सिमानाका कारण पनि तस्करलाई लागुऔषध नेपाल भित्र्याउन सहज भएको छ ।

भैरहवाको सुनौली नाकाबाटमात्र प्रहरीले आर्थिक वर्ष २०७०÷०७१ असारसम्ममा रु १४ करोड ३८ लाख ८६ हजार बराबरको लागुऔषध पक्राउ गरी नष्ट गरेको लागुऔषध ब्युरो भैरहवाले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिनेभन्दा कैयौँ गुणा बढीमात्रामा लागुऔषध भित्रिरहेको सहजै अनुमान गर्न सकिन्छ ।

नेपालमा लागुऔषध वितरण गर्ने को हुन् ?

नेपालसँंग सीमा जोडिएका भारतीय बजारका औषधि पसलबाट नेपालमा लागुऔषध बिक्री वितरण हुने गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको देखिन्छ ।

भैरहवाको सीमा नाका सुनौलीका औषधि पसल र लागुऔषध नेपालतिर आपूर्ति गर्ने मुख्य पेसा नै बनाएका व्यक्तिहरू भारतीय बजारमा दर्जनौँको सङ्ख्यामा सक्रिय रहेका भेटिन्छन् । प्रहरी हवल्दार कहारकाअनुसार सुनौलीबाट नेपालतर्फ लागुऔषध आपूर्ति गर्ने कारोबारमा केही महिला समेत सक्रिय रहेका छन् ।

कसरी गरिन्छ आपूर्ति ?

सीमा चौकीमा जाँच गर्ने प्रहरीकाअनुसार मलद्वारभित्र लुकाएर, खुट्टामा बाँधेर, मुखमा राखेर, सर्टको बाउलामा, कम्मर पेटीको पछाडि, मोबाइलको ब्याट्री राख्नेमा, चप्पल र जुत्ताको तलुवामा, साइकलको काठीमुनि, कारको ढोकाको बीच भागमा, स्तन र योनिजस्ता संवेदनशील अङ्गमासमेत लुकाएर लागुऔषध नेपालमातर्फ ओसार्ने गर्दछन् ।

कस्ता लागुऔषध नेपाल भित्रिन्छन् ?

भारतबाट मुख्यतया ब्राउन सुगर, सेतो रङको धुलो, गुलाबी रङको धुलो, टिडी जेसिक, डाइजेपाम, फेनरगन, लुपिजेसिक, नुफिन, फेवेस्टिन, नाइट्रोजन, स्पास्मो प्रोक्सिवन, कोरेक्स, फेन्सिडिलजस्ता औषधि नेपालतर्फ भित्रिने गरेको रुपन्देही प्रहरीको वार्षिक प्रतिवेदनमा देखिन्छ । वास्तवमा कोरेक्स र फेन्सिडिल खोकीको औषधि हो । तर बढीमात्रामा सेवन गर्दा यसले लठ्याउने भएकाले दुव्र्यसनीकाबीच यस्ता औषधि लोकप्रिय बन्न पुगेका छन् ।

के भन्छ रुपन्देही प्रहरी ?

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जनतामाझ निकै लोकप्रियता कमाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापा आएपछि जिल्लामा हुने लागुऔषध ओसारपसार रोकथाममा सक्रियता बढेको देखिन्छ ।

उहाँ भन्नुहुन्छ, “सुनौली बजारमा खुलेआम नेपाली युवायुवतीलाई बेचिने लागुऔषध नियन्त्रण गर्नसकेमात्र पनि धेरै हदसम्म नेपालीलाई यो दुव्र्यसनबाट बचाउन सकिन्थ्यो । तर भारतीय पक्षबाट पर्याप्त सहयोग प्राप्त नभएकै कारण नियन्त्रणमा अपेक्षित सफलता पाउन सकिएको छैन ।”

नेपाल प्रहरीले नाकामा जाँच गरेको र शङ्का लागेका मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकै भरमामात्र यो जटिल समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।

No comments for: " नेपालमा लागुऔषध वितरण गर्ने को हुन् ?"


Leave a Reply

Join Our Facebook !!!

More Latest