विभेद हटेपछि एचआइभी सङ्क्रमित बालबालिका विद्यालय पढ्न थाले


 ३० जेठ ,
 विभेद हटेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका एचआइभी सङ्क्रमित बालबालिका पढ्नका लागि विद्यालय जान थालेका छन् । समाजमा बढ्दो जनचेतनाका कारण विद्यालयमा शिक्षक र आफ्नै सहपाठीबाट हुने विभेद हटेपछि निर्बाध रुपमा बालबालिका विद्यालय जान थालेका हुन् ।

एचआइभी सङ्क्रमित बालबालिकासँग अन्य बालबालिका विद्यालयमा सँगै बस्न नरुचाउने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने र हेलाको दृष्टिकोणले विगतमा हेर्ने गरिँदै आएको थियो । बाइसे विचवा–६ अमरबस्तीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पोख्रेलले भन्नुभयो–“विभेदकै कारण सङ्क्रमित बालबालिकाले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको थियो ।”

“हाल अभिभावक र विद्यार्थीसँगको अन्तरक्रियाका कारण सङ्क्रमित बालबालिकामाथि हुने विभेदपूर्ण रुपमा हटेको छ”–उहाँले भन्नुभयो ।

एचआइभी एड्सबारे सबैले विस्तारै बुझ्दै गएकाले विद्यालयमा पढ्दै आएका अन्य बालबालिका झँै उनीहरुले पनि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउन थालिएको उहाँले बताउनुभयो ।

चार परिवारका सातजना सङ्क्रमित बालबालिका विद्यालयमा पढ्नका लागि आउने गरेका छन् । आर्थिक अवस्थाका कारण धेरै सङ्क्रमित बालबालिकाको परिवारको अवस्था दयनीय रहेकाले नियमित रुपमा विद्यालय पुग्न कठिनाइको सामना गर्नु परेको छ ।

सामाजिक समानता अभियान नामक गैरसरकारी संस्थाले विद्यालय जाने गरेका सङ्क्रमित बालबालिकालाई शैक्षिक सामग्री, अभिभावकहरुको आयआर्जन गर्नका लागि सहयोग रकम प्रदान गर्दै आएपछि ती परिवारलाई सहजता हुन थालेको प्रधानाध्यापक पोख्रलेको भनाइ छ । यहाँ बसोबास गर्दै आएका अधिकांश परिवारको आर्थिक अवस्था कमजोर रहेकाले तीन महिना खेतमा उब्जाएको अन्नले नधान्ने भएकाले उनीहरु नौ महिना भारतमा रोजगारीका लागि जाने गरेका छन् ।

अभिभावकसँगै बालबालिकासमेत भारततर्फ लाग्ने भएकाले विद्यालयको पढाइ पूरा गर्न नसक्ने गरेको विद्यालयका शिक्षक राधिका शाहले बताउनुभयो । गाउँमा विद्यालय जाने उमेरका १२ जनाभन्दा बढी बालबालिका रहे पनि अधिकांशको आर्थिक अवस्था कमजोर रहेकाले विद्यालयसम्म पुग्न सकेका छैनन् ।

सङ्क्रमित बालबालिकाको रोग प्रतिरोधात्क क्षमता जाँच गर्ने सिडिफोर मेसिन र एआरटी सेवानजिकको स्वास्थ्य केन्द्रमा उपलब्ध नहँुदा बालबालिकालाई समस्या पर्ने गरेको छ । स्वास्थ्य चौकीमै सिडिफोर र एआरटी सेवा उपलब्ध गराउन यहाँका अभिभावकहरुले मागसमेत गरेका छन् ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक बलबहादुर महतले सङ्क्रमित बालबालिकालाई सहज हुने गरी एआरटी सेवा उपलब्ध गराइने बताउनुभयो । विद्यालयमा पढ्दै आएका सङ्क्रमित बालबालिकाबाट केही विद्यालयले शुल्क लिने गरेकाले आर्थिक अभावले विद्यालय छाड्नुपर्ने अवस्था रहेको छ ।

जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट आधारभूत तहमा अध्ययन गर्ने कुनै पनि बालबालिकाबाट विद्यालयले शुल्क लिन नपाउने बताउनुहुन्छ । शुल्क लिएको पाइए कारबाही गरिने उहाँले बताउनुभयो । जिल्ला एड्स समन्वय समितिका अनुसार एचआइभी एड्सबाट यहाँका ४०  भन्दा बढी बालबालिका सङ्क्रमित रहेका छन् ।

No comments for: "विभेद हटेपछि एचआइभी सङ्क्रमित बालबालिका विद्यालय पढ्न थाले "


Leave a Reply

Join Our Facebook !!!

More Latest