शान्ति र राजनीतिक स्थायित्वमा केन्द्रित हुन प्रम कोइरालाको जोड


२७ जेठ,
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति र राजनीतिक स्थायित्वपछि मात्र विकासका क्रियाकलाप द्रुत गतिमा अगाडि बढ्ने भएकाले सबैको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सरकारसँगको विगतको सम्झौता कार्यान्वयनका लागि आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको ओखरपौवा ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका जनसमुदायलाई प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

    आफ्ना माग पूरा गराउन आन्दोलन र बन्दसम्मका कार्यक्रम गर्ने बताएका सो क्षेत्रका जनतालाई प्रधानमन्त्री कोइरालाले नेपालमा २००७ सालदेखि हालसम्म राजनीतिक आन्दोलन मात्र हुँदै आएको भएपनि अब विकासका क्रियाकलाप द्रुत गतिमा अगाडि विश्वास दिलाउनुभयो ।

    अपार प्राकृतिक साधन स्रोत हुँदाहँुदै पनि सदुपयोग गर्न नसकेका कारण मुलुक अभावै अभावमा रहनु दुःखद् भएको बताउँदै प्रधानमन्त्री कोइरालाले अब संविधानसभाको निर्वाचनपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुने आशा व्यक्त गर्नुभयो ।

भेटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सो क्षेत्रबाट प्रतिनिधिन्व गर्ने सभासद् अर्जुननरसिंह केसीले राजधानीको फोहरमैलाले ओखरपौवा ल्यान्डफिल्ड साइटका जनताको स्वास्थ्यमा गम्भीर असर परेको अवगत गराउनुभयो ।  उहाँले विगतमा सरकारसँग गरिएका सहमति र सम्झौता तत्काल कार्यान्वयन नगरे आफू संविधानसभाभित्रै अनशन बस्नेसमेत बताउनुभयो ।

प्रभावित क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद्द्वय राजेन्द्र पाण्डे र जगदीश्वरनरसिंह केसी, धादिङ काँग्रेसका सभापति रामनाथ अधिकारीलगायतले फोहरमैलाको व्यवस्थापन एवम् जनताको स्वास्थ्यमा परेको असरप्रति प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउँदै अविलम्ब समाधानका लागि आग्रह गर्नुभएको थियो ।

 सो क्षेत्रका समुदायले ल्यान्डफिल्ड साइटलाई संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, अधिकार सम्पन्न ल्यान्डफिल्ड साइट व्यवस्थापन समिति गठन गर्नुपर्ने, फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्नेलगायतका माग लिखितरुपमा प्रधानमन्त्री कोइरालासमक्ष राखेका थिए ।
   
सो भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललगायत सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रका प्रतिनिधिको उपस्थिति थियो ।

No comments for: "शान्ति र राजनीतिक स्थायित्वमा केन्द्रित हुन प्रम कोइरालाको जोड"


Leave a Reply

Join Our Facebook !!!

More Latest