सदनको अवरोध खोल्ने विषयमा दलहरुबीच सहमति भएन, छलफल पुनः सोमबार


 १८ जेठ,
 व्यवस्थापिका–संसद्को अवरोध खुलाउने विषयमा सरकार र विपक्षी दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज पटकपटक भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा कुनै पनि ठोस प्रस्ताव नआएको भन्दै एकीकृत नेकपा(माओवादी)ले आपत्ति जनाएका कारण सहमति हुन नसकेको हो । नेपाली काँग्रेसले प्रमुख दलहरुबीच विगतमा भएको चार बुँदे सहमतिअनुसार आफूहरु अगाडि बढ्न तयार रहेको जनाएपनि ठोस प्रस्ताव नल्याएको भन्दै एमाओवादीले आपत्ति प्रकट गरेको थियो ।

संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि तत्काल छानबिन समिति गठन गर्नुपर्ने, मन्त्रिपरिषद्ले मनोननयन गर्नुपर्ने २६ जना सभासद्को मनोनयन तत्काल गर्नुपर्ने, आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालयको रकमान्तर गरिएको भन्दै सदनमा एमाओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलले सदनमा अवरोध गरेका थिए ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सदन अवरोध गरेर मुलुकले निकास नपाउने भन्दै तत्काल सहमतिमा आउन आग्रह गरिएको बताउनुभयो । छलफल जारी राख्दै सहमतिमा समस्याको निरुपण गर्ने सहमति भएको उहाँको भनाइ छ ।

एमाओवादीले भने सरकारका तर्फबाट ठोस प्रस्ताव नआएसम्म कुनै पनि सहमति हुन नसक्ने बताएको छ । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले धाँधली छानबिन समिति गठनलगायतका विषयमा प्रष्ट धारणा नआएसम्म कुनै पनि सहमति हुन नसक्ने धारणा आफ्नो तर्फबाट राखिएको जानकारी दिनुभयो ।

उहाँले राज्यकोषको दुरुपयोग, प्रहरी अतिरिक्त महानिरीक्षकहरुको बढुवामा भएको अनियमिततालगायतका विषयमा समेत प्रष्ट धारणा सरकारको तर्फबाट आउनुपर्नेमा आफ्नो दलले जोड दिएको बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले सदनको कारबाहीमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री कोइराला, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख सचेतक पोखरेललगायतका नेताहरुको सहभागिता रहेको थियो । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलगायतका नेताहरुको सहभागिता रहेको थियो । छलफल सोमबार पुनः हुने बताइएको छ । रासस

No comments for: "सदनको अवरोध खोल्ने विषयमा दलहरुबीच सहमति भएन, छलफल पुनः सोमबार "


Leave a Reply

Join Our Facebook !!!

More Latest