‘सोधपुछ’ लाई हेडक्वार्टर तानिए खरेल


१७ जेठ,
 निर्वाचन आयोगले आचारसंहिताविपरीत भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवालाई सहमति नदिएका बेला मुख्यालयले भने उनलाई सोधपुछका लागि भन्दै तानेको छ । एक साताअघि सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले उनलाई सरुवा गर्ने प्रयास गरेको थियो । सरुवाका लागि गृहले सहमति लिन खोज्दा आयोगले अस्वीकार गरेको हो ।

आयोगको शुक्रबारको बैठकले असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै खरेलको सरुवा रोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचनको मिति तोकिसकेको अवस्थामा सरुवा गर्दा त्यो आचारसंहिता विपरीत हुने भएकाले अनुमति नदिइएको बताए ।

निर्वाचन आयोगले सहमति नदिने सुइँको पाएपछि प्रहरी मुख्यालयले शुक्रबार बिहान उनलाई ‘सोधपुछ’ का लागि तान्ने निर्णय गरेको थियो । उनले दिएको अभिव्यक्तिबारे छानबिन गर्न मुख्यालयले डीआईजी विज्ञानराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यही समितिलाई बिहान निर्णय गर्न लगाएर खरेललाई सोधपुछका लागि मुख्यालय तान्ने निर्णय गरेको हो । बिहान ११ बजे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित डीआईजीहरूको बैठकले खरेललाई सरुवा नगर्दा संगठनको ‘चेन अफ कमान्ड’ बिथोलिने भन्दै उनलाई सोधपुछका लागि तान्ने निर्णय गरेको कान्तिपुरमा खबर छ ।

No comments for: " ‘सोधपुछ’ लाई हेडक्वार्टर तानिए खरेल"


Leave a Reply

Join Our Facebook !!!

More Latest