एमाओवादीमा आइतबार निर्वाचन हुने


१० जेठ ,

 एकीकृत नेकपा(माओवादी)को पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको निर्वाचन आइतबार हुने भएको छ ।एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।  आइतबार दिउँसो १२.३० बजे निर्वाचन गरिने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । एमाओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १५१  केन्द्रीय सदस्य उम्मेदवार र मतदाता दुवै हुन पाउनेछन् । 

केन्द्रीय समितिले ५१  पोलिटब्युरो सदस्यका लागि मतदान गर्नेछन् । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल गत वैशाखमा नै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित भइसक्नुभएका कारण ५० पोलिटब्युरो सदस्यका लागि मात्रै निर्वाचन हुनेछ । निर्वाचित पोलिटब्युरोले १७ सदस्यीय स्थायी समिति निर्वाचित गर्नेछ  । निर्वाचित स्थायी समितिले पदाधिकारीको निर्वाचन गर्नेछ । 

एमाओवादीको विधानमा आवश्यकताअनुसार उपाध्यक्ष र  सचिव रहने व्यवस्था रहेको छ । नेता डा बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने सहमति यसअघि नै भएका कारण पदाधिकारीको सङ्ख्या नौ पुग्न सक्नेछ । निर्वाचनका लागि सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंको संयोजकत्वमा रामनाथ मैनाली र रामनारायण बिंडारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । 

प्रवक्ता शर्माका अनुसार आजको केन्द्रीय समितिको बैठकले निर्वाचनको विधि सर्वसम्मतरुपले पारित गरेको जानकारी दिनुभयो । तर नेता भट्टराई पक्षीय नेता मानिने गङ्गानारायण श्रेष्ठले भने केन्द्रीय समिति विस्तार प्रक्रियामा असहमति रहेका कारण निर्वाचन प्रक्रियामा सहभागी नहुने जानकारी दिनुभयो । 

No comments for: "एमाओवादीमा आइतबार निर्वाचन हुने "


Leave a Reply

Join Our Facebook !!!

More Latest