प्रजातन्त्रवादी नेत्री सुकी नेपालमा


३० जेठ ,
 म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी तीनदिने भ्रमणको सिलसिलामा आज नेपाल आइपुग्नुभयो ।बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा नेत्री सुकी आज मध्याह्न नेपाल आइपुग्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका तर्फबाट वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले स्वागत गर्नुभएको थियो । त्यस्तै बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, नेपाली काँग्रेसका नेता डा शशांक कोइराला र प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेललगायतका महानुभावले नेत्री सुकीलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

जननायक बिपी कोइरालाको जन्म शताब्दिका अवसरमा प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गर्ने ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई नेत्री सुकीले मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुहुने छ ।   नेपाल भ्रमणको क्रममा नेत्री सुकीले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम छ । नेत्री सुकीलाई नेपाली नागरिकका तर्फबाट नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव पौडेलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री सुशील कोइरालाले गत मार्चमा म्यान्मामा भएको विमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा नेत्री सुकीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

    विश्वभर स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका सङ्घर्षको पर्याय बनेकी नेत्री सुकीले म्यान्माको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका क्रममा २१ वर्ष बन्दी जीवन बिताउनुभएको थियो ।

सन् १९८९ जुलाईदेखि बन्दी जीवन व्यतित गर्नुभएकी उहाँ सन् २०१० को नोभेम्बर १३ मा मुक्त हुनुभएको थियो ।
   
    राजनीतिक परिवारमा हुर्कनुभएकी सुकीको जन्म सन् १९४५ जुन १९ मा तत्कालीन वर्मा(म्यान्मा)को रङ्गुनमा भएको थियो । सुकीका पीता आङसाङ म्यान्माले ब्रिटिस साम्राज्यवादबाट सन् १९४७ म्यान्मालाई मुक्त गर्ने क्रममा स्वतन्त्रता सेनाका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो । सोही वर्ष सुकीका पिताको हत्या भएको थियो ।

    सन् १९६० मा सुकीका आमा भारतका लागि तत्कालीन बर्माको राजदूत रहँदा र पछि श्रीमान्का साथ झन्डै ४० वर्षअघि उहाँ पटकपटक नेपाल आउनुभएको थियो । सुकीले नेपाल चिनाउन ‘नेपालको भ्रमण गरौँ’ नामक कृतिसमेत लेख्नुभएको बताइन्छ । सुकीले म्यान्माका साथै भारतको श्रीराम गल्र्स स्कुल तथा उच्च शिक्षा दर्शन, अर्थ र राजनीतिशास्त्रमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नुभएको थियो ।

 लामो समयको प्रवासपछि सन् १९८८ मा स्वदेश फर्कंदा त्यहाँ चर्केको सैनिक शासन विरोधी प्रजातान्त्रिक आन्दोलनमा उहाँ सहभागी हुनुभएको थियो । त्यसपछि सन् १९८९ जुलाईदेखि उहाँलाई सैनिक शासनले घरमै नजरबन्द गरेको हो ।

संसारभर स्वतन्त्रता र प्रजातान्त्रिक सङ्घर्षकी पर्याय बनेको उनलाई विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार सन् १९९१ मा प्रदान गरिएको थियो । सन् १९७१ मा माइकल एरिसका साथ विवाह भएको सुकीको दुई छोरा छन् भने पतिको सन् १९९९ मा निधन भएको थियो ।   नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको पिताकै समयदेखि सम्बन्ध रहेको र नेपाली काँग्रेसले नेतृत्व गरेको २००७ सालको सशस्त्र क्रान्तिका क्रममा बिपी कोइरालाले म्यान्माबाट हतियारको सहयोगका लागि आग्रह गर्नुभएकोमा सो सहयोग प्राप्त भएको थियो ।

शनिबार राजधानीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सुकीसहित जर्मन प्रा थोमस मायर पनि आउनुभएको छ । बेल्जियमका डा जुलियन भोउ भने सम्मेलनमा सहभागी हुन बिहीबारै आइसक्नुभएको छ ।
   
सम्मेलनमा भाग लिन सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, नेताहरू डिपी त्रिपाठी, सुरेन्द्र भदौरियालगायत दक्षिण एसियाली मुलुकका अन्य नेता पनि आउनु हुने नेपाल प्रचार संयोजक कृष्ण केसीले बताउनुभयो ।

No comments for: "प्रजातन्त्रवादी नेत्री सुकी नेपालमा "


Leave a Reply

Join Our Facebook !!!

More Latest