प्रहरी हिरासतमा युवतीद्वारा आत्महत्याको प्रयास


 १७ जेठ,
 बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी भीमदत्तनगरपालिका–१८ बस्दै आएकी २० वर्षीया रुक्मणी विष्टले शुक्रबार प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा रुक्मणीले शुक्रबार सांझ ब्ल्याङ्केटले पासो लगाई आत्महत्याको प्रयास गरेकी थिइन । तत्कालै गार्ड कमान्डरले पासो लगाएकोे थाहा पाउने बित्तिकै पासो काटेर बचाएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

बेहोस अवस्थामा रहेकी रुक्मणीलाई महाकाली अञ्चल अस्पतालमा तत्काल उपचारका लागि भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको खटिमा तर्फ लगिएको र हाल युवतीको अवस्था सुधारोन्मुख रहेको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

महेन्द्रनगरको शुक्लाफाँटा सञ्जीवनी बोर्डिङ स्कुलमा शिक्षिकाका रूपमा कार्यरत रुक्मणी ले कीर्ते दस्तखत गरी बैंकबाट रकम झिकेको भन्दै विद्यालयका सञ्चालक नन्दा जोशीले रुक्मणी विरुद्ध प्रहरीमा उजुरी गर्नुभएको थियो । उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

रुक्मणीले लामो समयदेखि विद्यालयले तलब नदिएपछि बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको बताइएको छ । विद्यालयको खाताबाट झिकेको रु २० हजार फिर्ता दिने विद्यालयसँग सहमति गरे पनि विद्यालय सञ्चालक जोशीले प्रहरीमा उजुरी गरेपछि युवतीले बदनामी हुने डरले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

No comments for: "प्रहरी हिरासतमा युवतीद्वारा आत्महत्याको प्रयास "


Leave a Reply

Join Our Facebook !!!

More Latest